काठमाडौँ: चिनियाँ राष्ट्रपति सी सी चिनफिङले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि एक्लाएक्लै भेटवार्ता गर्ने भएका छन् ।

आज दिउँसो काठमाडौँ आइपुग्ने सीले आजै साँझ देउवासँग भेटवार्ता गर्ने तय भएको छ । आफ्नो पहिलो दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं उत्रेपछि विमानस्थलबाट सी होटल सोल्टी जाने र त्यहाँ केही समय आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास जाने कार्यक्रम छ।

साढे ६ बजेबाट राष्ट्रपति भण्डारी र सीबीच करिब ४५ मिनेट वार्ता तय भएको छ । त्यसपछि पुनस् होटल सोल्टी फर्किने सीले सवा ७ बजे पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवासँग भेटवार्ता गर्ने तय भएको हो ।


काँग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार सीसँग भेट्न सभापति देउवा एक्लै जाने निश्चित भएको छ ।

सीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग पनि एक्लाएक्लै भेटवार्ता गर्ने तय भएको छ ।


प्रकाशित मितिः असोज २५, शनिवार, १३:१६