काठमाडौं: विगत केहि वर्षदेखि नेपालमा जलविद्युत आयोजना निर्माणले गति लिँदै गएको छ । तर निर्माणधिन आयोजनाको गति अनुसार प्रसारणलाइन निर्माण हुन नसक्दा उत्पादित विद्युत खेर जाने देखिएको छ । नेपाल विद्युत प्राधिकरणले समयमा प्रसारण लाइन निर्माण गर्न नसक्दा आगामी २ वर्षमा निर्माणधिन ३ दर्जन बढी आयोजनाका झन्डै ११०० मेगावाट विद्युत खेरजाने भएको हो ।  काबेली, कोसी, त्रिशूली, दोर्दी तथा कालीगण्डकी कोरिडोर र सिंगटी–लामोसाँघु प्रसारण लाइनमा विद्युत जोड्न कनेक्सन एग्रिमेन्ट गरेका आयोजनाहरुको विद्युत खेर जाने भएको हो ।

कोरिडोरसम्म ३ दर्जनभन्दा बढी जलविद्युत आयोजनाले करिब ११ सय ४६ मेगावाटका विद्युत् उत्पदान गर्दै छन् ।


। तर तोकिएको समयमा निर्माणधिन प्रसारण लाइन सम्पन्न गर्ने सम्भावन नहुँदा यी आयोजनाबाट उत्पादित विद्युत् खेरजाने भएको हो । १३२ केभीको काबेली क्षेत्रमा ५६ मेगावाट विद्युत खेर जाँदैछ । ९० किलोमिटर काबेली कोरिडोरको हाल सम्म ३४ किलोमिटर मात्र निर्माण भएको छ भने बाँकी ५४ किलोमिटर निर्माण हुनबाँकी छ । २०७४ बैसाख १० गते भित्र निर्माण पूरा हुनुपर्ने उक्त योजनाको हाल सम्म ५० प्रतिशत समेत काम सम्पन्न भएको छैन ।

 

यस्तै भारतको लगानीमा निर्माणधिन २२० केभी कोसी प्रसारण लाइनको हाल सम्म १० प्रतिशत काम समेत भएको छैन । यस क्षेत्रमा झन्डै ३०० मेगावट बराबरका आयोजनाहरु निर्माणधिन अवस्थामा रहेका छन् । तर यस प्रसारण लाइन समेत समयमा निर्माण हुने अवस्था नरहेको हुँदा उक्त क्षेत्रमा उत्पादित ३०० मेगावाट विद्युत समेत खेर जाने भएको हो। १०५ किलोमिटर लामो उक्त प्रसारण लाइनको भर्खरै ठेक्का आह्वान गरिएको छ ।

 

२२० केभीको त्रिशूली प्रसारण लाइन क्षेत्रमा २ सय २८ मेगावाटको ४ आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । उक्त ४ आयोजनाहरु आगामी दूई वर्षमा सम्पन्न हुने गरी निर्माण गरिँदै छ । यस खण्डको काम पनि ५० प्रतिशत पूरा नभएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । यस्तै अन्य १२३ केभीको दोर्दी , २२० केभीको कालीगण्डकी कोरिडोर र १३२ केभीको सिंगटी–लामोसाँघु प्रसारण लाइन निर्माणमा समेत ढिलासुस्ती हुँदै आएको छ ।

 

यस्तै, सिंगटी–लामोसाँघु १३२ केभी लाइन तयार नहुँदा त्यस क्षेत्रमा निर्माण भइरहेका आधा दर्जनभन्दा बढी आयोजनाको विद्युत खेर जाँदैछ । आयोजना पूरा हुँदासम्म प्रसारण लाइन तयार नभए पछि उक्त आयोजनाहरुको विद्युत खेर गइरहेको छ ।

 

नयाँ खिम्तीमा निर्माण भइरहेको २२० केभी सबस्टेसन अबको एक वर्षभित्र तयार नभए ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीकै विद्युत खेर जाने अवस्था छ । यस्तै ललितपुरमा निर्माण पूरा भएका ठुंगुन/ठोस्ने  र खानीखोला आयोजनाको ६ मेगावाट विद्युत प्रसारण लाइनको पहुँच नहुँदा केन्द्रीय प्रणालीमा जोडिएको छैन । ठुंगुन ठोस्नेब आयोजना ले अर्बौं रुपैयाँ गुमाइसकेका छन् । तर, यसमा सरकार र प्राधिकरण जिम्मेवार नहुँदा विद्युत खेर गएको आयोजनाले जनाएको छ।

 

प्राधिकरणले भने प्रसारण लाइन निर्माणलाई तीव्रता दिन ठेकेदारलाई ताकेता गर्दै आएको छ । केही साता अघि प्राधिकरणका उच्च अधिकारीहरु फिल्डमै पुगेर ठेकेदारलाई समयमा प्रसारण लाइन निर्माण पूरा गर्न दबाब दिँदै आएका छन् । तर आयोजनाका प्रवर्द्धकहरुले कुरा अनुसारको काम नहुँदा तोकिएको समयमा प्रसारण लाइन बन्ने अवस्था नरहेको जनाएका छन्  । एकपछि अर्को समस्याले जेलिएको प्रसारण लाइनका समस्या समाधान गर्न प्राधिकरणको एक्लो प्रयास पर्याप्त छैन । यसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय वा सरकारको उच्च तहबाट सहजिकरण गर्नुपर्ने छ । समयमा ठेकेदार कम्पनीले प्रसारण लाइन निर्माण नगर्दा विद्युत् प्राधिकरणले अर्बौं रुपैयाँ क्षेतिपूर्ति भोग्नु परेको छ । एक तर्फ विद्युत् खेर जाने र अर्को तर्फ विद्युत् बेचेर फाइदामा हुनु पर्ने प्राधिकरण क्षेतिपूर्ति तिरेर घाटामा जाने हुँदा प्राधिकरणले यसलाई गम्भीरताका साथ लिनुपर्ने छ । ठेकेदारहरुले विभिन्न बहानामा काम ढिला गरी आयोजनाको लागत बढाउने चलन निरुत्साहित गर्न तर्फ प्राधिकरण लाग्न जरुरी छ ।

मयाङ्क घिमिरे