तिब्बत: तिब्बतको कैलाश मानसरोर दर्शन गर्न गएका ८ जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिजो नै भारतको केरला निवासी ५६ वर्षीय नारायनम लिलाको सिमकोटमा र आन्द्रप्रदेशकी सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु भएको प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठले जानकारी दिएका छन् ।

मानसरोवर दर्शन गर्न जाने क्रममा लेक लागेर ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । असार १७ गते पनि लेक लागेर एक जनाको ताक्लाकोटमै मृत्यु भएको थियो । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले मानसरोवरको तीर्थयात्रामा गएका १ हजार ५ सय ७५ भारतीय अलपत्र परेको बताएकी छन् ।


। तीर्थयात्रामा गएका ५ सय २५ भारतीय सिमिकोटमा, ५ सय ५० हिल्सामा र ५ सय जना तिब्बत क्षेत्रमा अलपत्र परेको बताइएको छ । अत्यधिक वर्षाका कारण हवाई सेवा ठप्प छ भने स्थल यातायातसमेत अवरुद्व हुँदा उनीहरु अलपत्र परेका हुन् । स्वराजले माइक्रो ब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै उनीहरुको उद्धारका लागि काठमाडौस्थित भारतीय दूतावासको टोली सहायताका लागि नेपालगन्ज र सिमिकोट पुगेको उल्लेख गरेकी छन् । अलपत्र परेका केही तीर्थयात्रीसँग सम्पर्कको प्रयास भइरहेको तथा खानाको प्रबन्ध मिलाइएको उनले बताइएको छ । वृद्धावस्थाका तीर्थयात्रीलाई सिमिकोटस्थित स्वास्थ्य संस्थाले स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । उद्धार गर्न नेपाली सेनाको हेलिकप्टरको सहायताका लागि नेपाल सरकारसँग पहल गरिरहेको भारतीय विदेशमन्त्री स्वराजले ट्विटमा उल्लेख गरेकी छन् ।