काठमाडौं: दशक अघि देखि उपत्यकाको खानेपानी समस्याको समाधान स्वरुप लिइएको मेलम्ची खाने पानी आयोजनाको म्याद पुनः ठप गरिएको छ । २०५८  सालदेखि निर्माण कार्य सुरु गरिएको मेलम्ची खानेपानी आयोजना १७ वर्ष बित्दा समेत निर्माण कार्य आयोजनाको निर्माण सम्पन्न हुन सकेको छैन । एसियाली विकास बैंकको ऋण सहयोगमा १८ अर्ब  लागतमा निर्माण सम्पन्न गर्ने गरी सुरु भएको यस योजनाको बारम्बार म्याद ठप गरी लागत बढेर ३५ अर्ब रुपैयाँ पुगेको छ ।

मन्त्रालयको निरन्तर प्रयासपछि मेलम्चीको खानेपानी दसैंअघि नै काठमाडौंमा ल्याउन ठेकेदार कम्पनी सहमत भएको खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले जानकारी दिइन् ।


। कम्पनीसँग भएको सहमतिबारे जानकारी दिन सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले निर्माण कम्पनीले दसैंअघि नै काठमाडौंमा पानी आउने गरी आगामी असोज १४ गतेभित्र मेलम्चीको पानी सुन्दरीजलमा पठाउने सहमति गरिएको पनि स्पष्ट पारिन् । सरकारले बागमतीको पानी उपत्यकाबासीलाई उपलब्ध गराउन सुन्दरीजलमा प्लान्ट निर्माण कार्यलाई पनि अन्तिम चरणमा पुर्याएको छ । मन्त्री मगरले दैनिक ४ हजार करोड लिटर पानी उपलब्ध गराउने गरी सुन्दरीजलमा प्लान्ट स्थापनाको कामलाई अन्तिम चरणमा पुर्याइएको जानकारी दिइन् ।

मेलम्ची खानेपानी आयोजना सँग भएको सहमतिअनुसार कम्पनीको म्याद पनि थपिएको छ । कम्पनीको म्याद २ सय १२ दिन थप गरिएको हो । मन्त्री मगरले थपिएको म्यादभित्र पनि मेलम्चीको पानी काठमाडौं ल्याउने काम नभए निर्माणको जिम्मेवारी पाएको सिएमसी कम्पनीमाथि कडा कारबाही गर्ने चेतावनी दिइन् । बहुप्रतिक्षित मेलम्चीको खानेपानीलाई तमासाको विषय बनाउन खोजिएको उल्लेख गर्दै मन्त्री मगरले अव त्यसो हुन नदिने दृढता पनि व्यक्त गरिन् ।

भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा घाटा भएको दाबि गर्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी)ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको छ । सीएमसीले सिन्धुपाल्चोकको अम्बाथान हेडवर्क्समा डाँडो धेरै काट्नु परेको भन्दै त्यसमा मात्रै ९७ करोड क्षतिपूर्ति दाबी गरेको छ भने अन्य शीर्षकमा थप ६८ करोड गरी जम्मा १ अर्ब ६५ करोड क्षतिपूर्ति पाउनुपर्ने दावी सीएमसीको छ । सीएमसीले सन् २०१३ देखि काम सुरु गरेको थियो । तर पटक-पटक विभिन्न बहानामा काम रोक्ने र क्षतिपूर्ति माग्ने गरेको छ ।

मेलम्ची आयोजनाको सुरुङ खन्ने काम गत चैतमा सम्पन्न भइ सकेको छ । सिन्धुपाल्चोक जिल्लाको अम्वाथान देखि काठमाडौको सुन्दरीजलसम्मको करिव २७.५ किलोमिटर लामो सुरुङमार्ग  ३ खण्डमा विभाजन गरेर निर्माण गरिएको हो ।