काठमाडौंः प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षका सांसद डा. मिनेन्द्र रिजालले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओली महाराजा बन्न खोजेको आरोप लगाएका छन् ।

सरकार र प्रधानमन्त्रीको क्रियाकलापको चर्को आलोचना गर्दै रिजालले प्रधानमन्त्री केपी ओलीलाई नयाँ महाराजा बन्न खोजेको आरोप समेत लगाएका हुन् । उनले भने, ‘राजा गए नयाँ राजा आए’ यो संस्कृतिका लागि गणतन्त्र आएको होईन ।

प्रधानमन्त्रीको भौपरी आउने खर्चमा खर्च कटौती गर्ने गैर जिम्मेवारीपूर्ण कार्य भन्दै सरकारका मन्त्रीको कामकारवाहीको चर्को आलोचना गर्दै संविधान र कानून नमिच्न चेतावनी दिए ।


सरकारका मन्त्रीहरुले कर्मचारीहरुलाई तर्साउँदै हिँडेको आरोप लगाउँदै प्रधामन्त्री केपी शर्मा ओलीले ती मन्त्रीहरुलाई लगाम लगाउनु पर्ने सुझाव दिएका छन्। उनले भने, ‘न्यायाधीसलाई धम्काउने अधिकार कानुन तथा न्याय मन्त्रीलाई छैन । सबलाई थुन्छु भन्दै हिँड्नुहुन्छु, गृहमन्त्री। कानुन देखाएर थुन्नुस्। कानून बदल्न पाईन्छ नियमबाट तर कानून मिच्न पाइदैन । संबिधान बदल्ने तागत छ तपाईहरुलाई बदलेर आउनुस् । कानुन बदल्नुस् तर कानून मिच्न पाइदैन । अधिकार छैन यो निर्दलिय ब्यवस्था हैन । तर्साएर धम्काएर हुँदैन । गाली गरेर समस्या समाधान हुँदैन ।’

पत्रकारलाई पश्न सोधेको भरमा कार्यक्रम नै बन्द गराइदिने यो कहाँको कनून हो, कहाँको नियम हो । प्रधानमन्त्री ज्यू मन्त्रीहरुलाई नियन्त्रणमा राख्नुस्, लगाम लगाउनुस् मन्त्रीहरुलाई संविधानमा बस्नका लागि। कानुन अनुसार चल्नका लागि।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न अब संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीले जिम्मा लिन नसक्ने कटाक्ष गर्दै, त्यसलाई पनि प्रधानमन्त्री मातहतको कार्यालयमा सार्न व्यंग्यात्मक सुझाव दिए । पर्यटनमन्त्रीले एयरपोर्टको कर्मचारी तर्साउँदै हिँडेको उल्लेख गर्दै रिजालले आस्थाका आधारमा तर्साउन उपयुक्त नहुने बताए। पर्यटनमन्त्री रवीन्द्र अधिकारीतर्फ इंगित गर्दै रिजालले भने, ‘तपाईँ देखेरै तर्सन्छन् कर्मचारी। किन तर्साउनुहुन्छ ?’ सामाजिक सञ्जालमा जनजाति नेता ओम गुरुङले लेखेको स्ट्याटसलाई कोट्याउँदै रिजालले प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फिर्ता आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ७६ जना यात्रुहरूलाई एक घण्टा कुराएर आम जनतालाई दुख दिएको आरोप लगाए ।

उनले मन्त्रीहरुमा समन्वयसमेत नदेखिएको उल्लेख गर्दै ती मन्त्रीहरुलाई एकै ठाउँमा राखेर मिलाउन सुझाव समेत दिएका छन् ।