काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मंगलबार पनि भारी वर्षा हुने जनाएको छ । महाशाखाले असार १३ देखि देशैभरि मनसुन सक्रिय भएको र आइतबारदेखि भारी वर्षा सुरु भएको जनाएको छ ।

सोमबार राति र मंगलबार पूर्वी भागमा ठूलो वर्षा हुने र पश्चिम क्षेत्रमा भने सोमबार रातिदेखि नै वर्षा रोकिँदै जाने महाशाखाले जनाएको छ । महाशाखाले बुधबारबाट भने सबै भागबाट केही दिनका लागि भारी वर्षा टर्ने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबारसम्म धेरैजसो नदीमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

शाखाका अनुसार कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने देखिएको छ ।


। सोमबार मोहना, बबई, पश्चिम राप्ती र आसपासका नदी जलाधारमा जलसतह खतराको तह आसपास पुगेको छ । बुधबारदेखि भने सबै नदी जलाधारमा पानीको बहाव घटदै जाने महाशाखाले जनाएको छ ।