काठमाडौं: उडान तथा विशान (पार्किङ) का लागि लिएको अनुमतिको प्रावधान पालना नगरेका निजी वायु सेवा कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको दायरामा ल्याउने भएको छ। अनुमति लिँदा कुनै एक विमानस्थललाई आधार बनाएर उडान गर्ने भनिए पनि अधिकांश विमान काठमाडौँमा नै केन्द्रित भएपछि प्राधिकरण कारबाहीका लागि अग्रसर भएको हो।

प्राधिकरणले यही असार १७ गतेभित्र तोकिएको शर्त पूरा नगर्ने विमान कम्पनीलाई कारबाही गर्ने आशयको पत्र पठाएको छ। अधिकांश विमान कम्पनीले उपत्यका बाहिरका विमानस्थललाई बेस बनाएर उडाउने तथा बिसान गर्ने प्रतिबद्धता जनाएका छन्। तर सो प्रतिबद्धता पालना हुन सकेको छैन।


। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशानका लागि स्थान अभाव रहेको, जहाजको संख्या थपिँदै जाँदा उडान तथा अवतरणमा समेत समस्या पैदा भएको छ।

विमानस्थलमा आन्तरिकतर्फ ३० वटा जहाज पार्किङ गर्न सकिन्छ। यस्तै अन्तर्राष्ट्रियतर्फ छवटा मात्रै विमान पार्किङ गर्न सकिने अवस्था छ।प्राधिकरणले उडान अनुमति लिँदा गर्छु भनेर जनाएको प्रतिबद्धता पालना गर्नुपर्ने र त्यसमा कुनै पनि तलमाथि हुन नसक्ने जनाएको छ। नयाँ नियमानुसार बुद्ध एयरले विराटनगर विमानस्थलमा पार्किङ गर्नुपर्नेछ। यस्तै श्री एयरलाइन्सको जहाज नेपालगञ्ज विमानस्थलमा पार्किङ गर्नुपर्नेछ।

यस्तै उडान तथा अवतरणलाई व्यवस्थित बनाउन निजी वायुसेवा प्रदायकलाई जिम्मेवार बनाउन लागिएको प्राधिकरणले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि यही असार १७ गतेदेखि लागू हुनेगरी सम्बन्धित विमान कम्पनीलाई परिपत्र गरेको छ।  परिपत्रलाई अटेरी गरे सम्बन्धित विमान कम्पनीको उडान रद्द गरिनेछ। जस्तो कुनै वायुसेवा कम्पनीले चार वटा विमानमध्ये दुई वटा उपत्यका बाहिर क्षेत्रीय बेस बनाउने भनेर अनुमति लिएको छ भने सोहीअनुसार नै नियम पालना गर्नुपर्छ।

निजी वायुसेवा प्रदायकले पनि प्राधिकरणको नियमलाई भने कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले विमानस्थलको अवस्था, पार्किङ क्षमता र उडान तथा अवतरणको अवस्थालाई हेरेर नै प्राधिकरणले परिपत्र गरेको भन्दै यसको पालना गर्ने जनाएका हुन्।