काठमाडौं: नेपाल-भारत ऊर्जा व्यापार समितिको वैठकमा सहभागी हुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितका टोली आज बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छन् । आगामी वर्षको विद्युत आयात निर्यातको मूल्य समायोजन सहित अन्य ऊर्जा सम्बन्धित विषयको छलफलका लागि यही बिहीबार र शुक्रबार बैठक बस्न लागिएको हो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणका अधिकारीसँग विभिन्न विषयमा छलफल हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । बैठकमा विद्युत् खरिद दर, विद्युत् परिणाम र व्यापारका मोडालिटीबारे छलफल हुनेछ ।

विद्युत खरिद दर नबढाउन आग्रह गर्ने

पछिल्लो समयमा भारतीय बजारमा विद्युत् महसुल बढेको छ ।


। यसलाई आधार बनाउँदै भारतीय पक्षले नेपाल आयात हुने विद्युत्को महसुल पनि बढाउने सम्भावना रहेको छ । तर, प्राधिकरणको टोलीले भारतको केन्द्रीय विद्युत् प्राधिकरण सँग विद्युत्को दर नबढाउन आग्रह गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

अहिले प्राधिकरणले १३२, २२ र ११ केभी क्षमताका प्रसारण लाइनमार्फत भारतबाट विद्युत् आयात गरिरहेको छ । नेपालले १३२ केभीको प्रसारण लाइनमार्फत आयात गर्ने विद्युत्को औसत मूल्य प्रतियुनिट ५ दशमलव ५५ भारु पर्छ भने ३३ केभी र ११ केभी क्षमताको प्रसारण लाइनबाट आयात गर्ने विद्युत्को औसत मूल्य क्रमश: ६ भारु र ६ दशमलव ४५ भारु पर्छ । आगामी वर्षका लागि नेपाल विद्युत् प्राधिकरणले भारतबाट खरिद तथा विक्री गर्ने विद्युत्को मूल्य यही बैठकले निर्धारण गर्नेछ ।

प्रसारण लाइन निर्माण बारे छलफल

यस्तै उक्त बैठकमा प्रस्तावित बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनका विषयमा पनि छलफल हुने भएको छ । वैशाखमा बसेको नेपाल–भारतबीचको ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त बैठकले ४०० केभीको उक्त प्रसारण लाइन निर्माणको मोडालिटीबारे संयुक्त रूपमा सुझाव दिन नेपाल र भारतका विद्युत् प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

इनर्जी बैंकिङ स्थापनाको प्रस्ताव

प्राधिकरण टोलीले भारतीय केन्द्रीय विद्युत् प्राधिकरणका अधिकारीसँग प्रस्तावित इनर्जी बैंकिङको विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ । नेपालमा वर्षायाममा बढी भएको विद्युत् भारत लैजाने र आवश्यक पर्दा नेपाल ल्याउने गरी इनर्जी बैंकिङको स्थापना बारे छलफल हुने भएको हो  । प्राधिकरणले भारतीय निकायलाई यसअघि नै इनर्जी बैंकिङबारे आफ्नो लिखित प्रस्ताव पठाइसकेको छ । तर, भारतीय निकायबाट त्यसबारे कुनै जवाफ नआएको प्राधिकरणले जनाएको छ ।

मयाङ्क घिमिरे