काठमाडौंः नेपाल प्रहरीका प्रमुख सर्बेन्द्र खनालले नेपाल संघीयतामा गइसकेको र यसको सफल कार्यन्वयनमा सुरक्षाको प्रमुख भूमिका रहने भन्दै नेपाल प्रहरी संघीयता अनुरुपको संरचनामा जानु मूख्य लक्ष्य रहेको बताएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल प्रहरीका तीन तहका जिम्मेवारी रहेको बताएका हुन् ।

प्रमुख तीन जिम्मेबारीमा
१. प्राथमिक जिम्मेवारीः शान्ति सुरक्षा, अपराधको रोकथाम तथा अनुगमन
२. वर्तमान प्राथमिकता: प्रहरीको संघीय रुपान्तरण र अपराध संहिता कार्यान्वयन
३. विशेष प्रहरी कार्यक्रमः गृह प्रशासन सुधार कार्ययोजना, प्रहरी प्राथमिकता, लागुऔषध, मानव वेचविखन विरुद्ध आदि रहेका छन् ।


सुन प्रकरणको बारेमा पत्रकारले सोधेको जवाफ दिदैँ उनले भने, अहिले गृह मन्त्रलायको सह-सचिवको संयोजकत्वमा छानविन तथा अनुसन्धान भइरहेको छ । अहिले छानविन र अनुसन्धान भइरहेको विषयमा बोल्नु सान्र्दभिक हुँदैन । असल काम गर्नेको म संरक्षण गर्छु र गरेको पनि छु तर कानुन र प्रहरी आचरण बिपरित काम कारवार्ही गर्छ भने त्यस्ता ब्यक्तिहरु स्वतः कानुनको दायरामा आउछन् ।

खनालले प्रहरी संगठनलाई चुस्त र दुरुस्त बनाउने प्रयासमा निरन्तर लागिरहेको बताउँदै प्रहरी संगठनमा वर्षौंदेखि रोकिएको सरुवा–बढुवा प्रक्रिया अघि बढाउन सफल भएको बताए । उनले लामो समयदेखि एकलौटी रुपमा यातायात व्यवसायीहरुले लाद्दै आएको सिण्डिकेट हटाउने बिषयलाई लिएर व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउँदै सिण्डिकेटलाई अन्त गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

श्रम तथा रोजगार मन्त्रालयको पहलमा वैदेशिक रोजगारीका लागि बिदेश जाने आम नागरिकको सुरक्षा र तिनीहरुमाथी म्यानपावरहरुले गरेको ठगीका विषयलाई लिएर अनुसन्धान तथा करावाही प्रकृया अगाडि बढाइदै गएको बताए ।

संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोस्रो सम्मेलन फलदायीपूर्ण रहेको भन्दै उनले अब युएन मिसनमा महिलाको उल्लेख्य सहभागिता रहने समेत उल्लेख गरे ।

अवैध र वैध हात हतियारको विषयमा बोल्दै खनालले भने, हामीले वैध, अवैध हातहतियारको बारेमा अनुसन्धान र कारवाही प्रकृयाहरु अगाडि बढाएका छौं । बैध हतियार राख्ने तर यस्ता हातहतियार राख्नेले गरेका विभिन्न अवैध क्रियाकलाप र डर धम्कीमा आएका गुनासाहरुलाई मध्यनजर गर्दै केहि व्यक्तिलाई कानूनी दायरामा समेत लिइसकेका छौ र अन्य व्यक्तिहरुलाई पनि सुक्ष्म निगरानीमा राखेका छौं ।

पछिल्लो समयमा संचार माध्यमहरुको दुरुपयोग गर्दै सामाजिक संजालमा बढ्दै गएका साइवर अपराधमा सशक्त कारवाही अगाडि वढाइएको लगायत अन्य सुरक्षा सम्बन्धी बिषयमा महत्वपूर्ण बिचारहरु खनाले राखेका थिए ।