काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपत्यकामा सरकारले लागू गर्न लागेको निषेधाज्ञा तोड्ने चेतावनी दिएको छ ।

आज नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘निषेधाज्ञा’ उचित समयमा तोडिने बताएका हुन् ।

कांग्रेसले विरोध प्रदर्शनका लागि निश्चित स्थान तोक्ने कामले सरकारको निर्णयको नियतमा खोट रहेको उल्लेख गरेको छ।

प्रवक्ताको ट्विटमा लेखिएको छ, ‘अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विट्जरल्याण्ड या जापानमा सरकारको नाकै अगाडि विरोध प्रदर्शन गर्न पाइन्छ तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउँछु यो उत्तर कोरिया होएन नेपाल हो ।


।’

सरकारले आगामी साउन १ गतेबाट लागू गर्न गइरहेको निषेधाज्ञा उचित समयमा तोडिने प्रतिपक्षी कांग्रेसले चेतावनी दिएको हो ।

उता सरकारले आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेको छ ।

जसअनुसार काठमाडौंको खुलामञ्च, तीनकुने, भुइँखेल भगवानपाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरण, सिफल चौर र लैनचौरस्थित समाज कल्याण परिषद्दको खुला क्षेत्र, ललितपुरका च्यासल खेल मैदान, गोदावरी बसपार्कको खाली क्षेत्र, भैंसेपाटी छ्यासीकोटको खुला ठाउँ, बज्रबाराहीको खुला ठाउँ र लुभु लामाटार र भक्तपुरको सल्लाघारी खुला मैदानलाई पनि विरोध प्रदर्शनका लागि तोकिएको छ ।

तोकिएका स्थानबाहेक अन्यत्र प्रदर्शन गरे कारबाही गरिने गृह मन्त्रालयले जनाएको थियो।