काठमाडौंः प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बढुले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा बेलामा लिपुलेकका बारेमा किन कुरा नउठेको भन्दै प्रश्न गरेका छन् । साथै उनले चीनसँग पारबहन सम्झौता हुन नसकेको गुनासो समेत ब्यक्त गरेका छन् ।

उनले चीन भ्रमण गर्नु खुशीको कुरा हो भन्दै भ्रमणका क्रममा नेपालको हित र भारत-चीन-नेपालको विवादित विषय रहेको लिपुलेकलाई प्राथमिकता दिन किन सकिएन भनेर उक्त प्रश्न सोधेका हुन् ।

बढुको प्रतिउत्तर दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यस पल्ट हामीले सरकारी तर्फबाट १३ र निजी तवरमा ९ वटा गरी २२ वटा सहमति गर्यौं र प्रोटोकलको विषय सन् २०१६ को मार्चमा म प्रधानमन्त्री भएर जाँदा जे समझदारी भएको थियो त्यसको लगत्तै म सरकारबाट हटें ।


। पहिलो त ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्टको समझदारी कहाँ छ भनी खोज्न समय लाग्यो । धुलो टक्ककाएर त्सलाई हटाइयो । आउँदो जुलाइमा प्रोटोकल तयार पनि हुन्छ र सम्झौता पनि हुन्छ । योकुरा संयुक्त वक्तव्य प्रश्ट उल्लेख गरिएको छ ।’

हाम्रो सीमामा सुरक्षा चुनौती रहेको बताउँदै ओलीले ‘हाम्रो सीमा कुनै पनि बहानामा लेनदेन हुँदैन । जोसंग हाम्रो सीमाना जोडिएको छ सानो देशले छोडीछोडी सम्झौता गर्दैन । हामी कुनै बहानामा कुनै पनि हिसाबले सीमाको सुरक्षा गर्छौं । हाम्रो देस सानो छ तर हाम्रो सान आफ्नै छ । तर कतिपय कुराहरु लामो समयदेखि रोकिएका छन् । कसरी भए मन्त्रालयगत अध्ययन गर्न समय लाग्ने भयो । सबै कुरा उठाएर निष्कर्षमा नपुर्याउनु उचित हुँदैन । मैले भारत भ्रमणको सम्बन्धमा कुरा उठाएको छु र क्रमशः उठाइँदै जानेछ । ’

प्रधानमन्त्री ओलीले भने, अहिलेको भ्रमणको आसपास र मेरो सरकार बनेपछि केही बिग्रेको छैन । बिग्रेको रहेछ भने त्यो बनाउने र पुराना सम्झौतालाई पनि टुंगो लगाइन्छ । तिनको अध्ययन गरेर समुचित ढंगले अध्ययन गरिन्छ । विगतमा कमजोरी भएका रहेछन् भने त्यसलाई अध्ययन गरेर त्यसको निष्कर्ष समूचित तरिकाले निकालिने छ । ‘