काठमाडौं: नेपाली सिमा क्षेत्रबाट भारतीय तस्करहरुले दैनिक हजारौं लिटर इन्धन तस्करी गर्दै आएका छन् । भारतको तुलनामा नेपालमा इन्धन केहि सस्तो पाइने हुँदा भारतीय सिमा क्षेत्रका नागरिकहरु नेपालको बजार तर्फ  आकर्षित भएका हुन् ।

भारतमा केन्द्रीय र प्रादेशिक गरी द्विपक्षीय कर लाग्ने हुँदा तुलनात्मकरुपमा भारत भन्दा नेपाली बजारमा इन्धनको मूल्य केहि सस्तो छ । नेपालमा इन्धनको मूल्य भारतभन्दा प्रति लिटर १०/१५ रुपैयाँ सम्म सस्तोमा पाइन्छ । यसको फाइदा उठाउँदै भारतीय नागरिकहरुले इन्धन तस्कर गर्ने गरेका छन् । मुख्य गरी नेपालगञ्ज, भैरहवा,  बिरगंज, सुनसरी आसपासको क्षेत्रबाट लामो समयदेखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ ।


। भारतीय नागरिकले खुल्ला सीमाको फाइदा उठाउँदै नेपाली बजारबाट इन्धन तस्करी गरेता पनि सरकार भने यस तर्फ मौन रहेको छ ।

भारतको रूपैडिहा नाका हँदै नेपालगञ्ज र जमुनाहा छेउछाउका पेट्रोल पम्पबाट भारतीय नम्बर प्लेटका ढुवानीको सवारीसाधन प्रयोग गरेर पनि ठूलो परिमाणमा इन्धन तस्करी हुँदै आएको छ । यसैगरी, खजुरा गाउँपालिका–१ सैनिकको सीमाबाट डिजेल र पेट्रोल निर्वाध रूपमा ग्यालेनमा भरेर भारततर्फ इन्धन तस्करी भइरहेको स्थानीयले जानकारी दिएका छन् ।

यसैगरी, नेपालगन्जमा भारतबाट मालसामान लिएर आउने ठूला मालवाहक ट्रकले सामान अपलोड गरेर भारत फर्कने बेलामा नेपालगन्ज आसपासका पेट्रोल पम्पहरूबाट फुल ट्यांक तेल लिएर जाने गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरुले उक्त ट्रकले त्यस तेललाई सीमापार लगि बिक्रि समेत गर्ने गरेको जनाएका छन् । एक स्थानीयले भने, “कन्टेनर बोकेर आएका ट्रकको एउटै ट्यांकीमा ६ सय लिटर बढी डिजल जान्छ । त्यस्ता ट्रकमा दुईवटा ट्यांकी हुन्छ । सामान डेलीभरी दिएर भारत फर्कदा दुबै ट्यांकी भरेर भारततर्फ तेल लिएर जान्छन् र अगाडी गएर विक्री गर्ने गरेका छन् ।”

नेपाल आयल निगमले यसको नियन्त्रण गर्न गृह मन्त्रालयलाई आग्रह गरे पनि मन्त्रालयबाट कुनै कदम भने चालिएको छैन । नेपालबाट भारततर्फ तस्करी बढेपछि आयल निगमले पेट्रोल पम्पलाई उपलब्ध गराउँदै आएको इन्धन कोटा कटौती गरेको छ। निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले सीमा क्षेत्रका पम्पलाई उपलब्ध गराउँदै आएको डिजेल र पेट्रोल कटौती गरेको हो। नेपाल आएर भारततर्फ फर्किने भारतीय नम्बर प्लेटका ठूला सवारीसाधनलाई ५० लिटर र साना सवारीसाधनलाई १० लिटरभन्दा बढी इन्धन उपलब्ध नगराउन सबै पेट्रोल पम्पलाई आपूर्ति समितिले निर्देशन दिएको छ । तर पेट्रोल पम्पकै मिलेमतोमा भारतीय मालवाहक गाडीहरुले फूल ट्यांक गरी इन्धन तस्कर गर्ने गरेका छन् । यस्तै ट्याङ्कर धनीहरूले समेत मिलेमतो गरी भारतमा अवैधानिक रूपमा इन्धन बेच्ने गरेको पाइएको छ ।

कति हुन्छ तस्करलाई फाइदा?

आजको मिति अनुसार हेर्दा भारतको उत्तर प्रदेशमा पेट्रोलको मूल्य नेपाली १२२ रुपैयाँ ५० पैसा रहेको छ भने नेपाली सिमा क्षेत्रमा पेट्रोलको मूल्य १०८ रुपैयाँ ५० पैसा रहेको छ । यस अनुसार नेपालमा पेट्रोलको मूल्य भारत भन्दा १४ रुपैयाँ सस्तो छ ।

No automatic alt text available.

यस्तै भारतको उत्तर प्रदेशमा आज डिजेलको मूल्य नेपाली १०८ रुपैयाँ ४८ पैसा रहेको छ भने नेपाली सीमा क्षेत्रमा डिजेलको मूल्य ९१ रुपैयाँ ५० पैसा रहेको छ । यस अनुसार नेपालमा डिजेलको मूल्य भारत भन्दा १६ रुपैयाँ ९८ पैसा सस्तो छ ।

नेपाली सिमामा प्रहरी प्रशासन, भन्सार, ससत्र प्रहरी , आयल निगमको कर्मचारी, सीडीओ कार्यालयको प्रतिनिधिको उपस्थिति हुन्छ तर जिम्मेवार कार्यालयको उपस्थितिमा समेत यसरी दैनिक रुपमा पेट्रोलियम पदार्थको तस्कर हुनु मिलेमतोको भएको संकेत जनाउँछ ।

सरकारले सिमामा कडाईका साथ सवारीसाधन चेकजाँच गर्न जरुरी छ । भारतीय सवारीसाधनको आवातजावत दुवै समयमा चेकजाँच गरी तेलको तस्करी रोक्न सिमा प्रहरीले जोड दिनुपर्ने छ । यस्तै सरकारले पेट्रोलपम्प माथि समेत निगरानी राखी भारतीय सवारीसाधनलाई ठूलो मात्रामा इन्धन उपलब्ध गराएको पाइएमा कडाकारबाही गर्न जरुरी छ । यस्तै ट्याङ्करको तौल जोख्ने काँटाको अभाव र सीमा सुरक्षाकर्मीसँग समन्वय गर्न नसकिएको कारण तस्करी रोक्न समस्या भएको हुँदा यस समस्याको उचित समाधान गर्न सरकारले ध्यान दिनु पर्नेछ ।