काठमाडौंः यूवा सन्त श्री श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको बताएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार सम्मेलन गरेर जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै श्रीनिवासाचार्यले आफु माथी झुटो आरोप लगाइएको भन्दै  दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

२०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका श्रीनिवासाचार्यले पत्रकारहरुलाई पात्रकार नबन्न समेत आग्रह गरेका छन् । उनले भने, ‘पत्रकार समाजको आँखा हो, त्यो आँखामा छारो परेको खण्डमा राम्ररी देख्न सकिँदैन्, सत्य सूचना समाजका बीचमा जानबाट बञ्चित हुन्छ, मेरो बारेमा जान्नको लागि पत्रकारले जुन भूमिका खेल्नुपर्ने थियो हुन सकेन, मैले सरकारबाट न्याय पाउन सकिँन, उल्टै मेरा शुभचिन्तक र अंगरक्षकलाई चरम यातना दिएर बलजफ्ती औंठा छाप लगाउने काम गरियो ।


आफूलाई गोली लाग्दा लाखौंले थाहा पाउनेगरि समाचार बनेको उल्लेख गर्दै उनले भने,‘तर दुःखको कुरा मलाई नै कुनै कुरा बोल्न नदिएर एकतर्फी पत्रकार सम्मेलन गरेर आफूले आफूमाथि गोली प्रहार गर्न लगाएको हो भन्ने समाचार विश्वले थाहा पाउने गरि प्रकाशित भए, सत्य जानेर समाचार लेखिएन, मनगढन्ते र अरुका कुराहरु सुनेर समाचारहरु प्रकाशित भए ।’

त्यस्तै कार्यक्रममा स्वामी पद्यमधर आचार्यले पत्रकार देशको आँखा भएकाले समाचार सम्प्रेषणमा ध्यान दिनको लागि आग्रह गरेका छन् ।