काठमाडौंः बडादशैंको नवौं दिन आज सोमबार सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । आज दुर्गा माताको नवौं शक्ति स्वरुपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो र उनको साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ ।

आजको दिन शक्तिस्वरुप सिद्धिधात्रीको पूजा गर्नाले सम्पूर्ण संसारनै जित्नसक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरापनि अगम्य नहुने मान्यता छ ।

पूर्ण निष्ठाका साथ साधना गर्नेहरुमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ । सोही कारण उनको आधा शरीर देवीको भएको र उनी अर्धनारिश्वर नामबाट प्रसिद्ध भएको धार्मिक मान्यता पनि छ ।


आजको दिन निर्माण र शिल्पकला अनि कलपूर्जाका देवता विश्वकर्माको दिनकारुपमा पनि लिइन्छ, इञ्जिनहरु, गाडी, कारखाना आदिमा वलि चढाइन्छ ।

आजको दिन सबैभन्दा धेरै बलि चढाइने दिन हो, शक्तिस्वरुपा देवीहरुले असुरहरुलाई खोजी९खोजी संहार गरेपछी बाँचेका असुरहरु जनावरकारुपमा भेष बदलेर लुकेको तसर्थ जनावरको भेषका असुरहरुलाई बलि चढाइने किंवदन्ति रहेको छ ।

नेपाली सैनिक मुख्यालय, प्रहरी प्रधान कार्यलय लगायतका ठाँउमा आज कलपूर्जा, हतियार र गाडीहरुको विशेष पूजा सहित जङ्गी निशान पूजा र कोत पूजा पनि गरिन्छ ।

वलि दिनकालागि आज उपत्यका भित्रका दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, बज्रवाराही लगायतका शक्तिपीठहरुमा धेरै घुँइचो हुनेगर्दछ ।

यसैगरि उपत्यका बाहिर पर्साको तिलवा नदि पारी केहूनिया भन्ने ठाँउमा रहेको शक्तिपीठ विन्देवासिनी देवीको मन्दिरमा, वीरगञ्जको गहवामाईमा, काभ्रेको पलाञ्चोक भगवतीमा, सप्तरीको छिन्नमस्ता मन्दिरमा, डडेलधुराको उग्रतारा मन्दिरमा, जनकपुरको राजदेवी मन्दिरमा, गोरखाको मनकामना मन्दिरमा, सुनसरी जिल्लाको दुहवीको बुढीखोला किनारमा रहेको कालिमन्दिर, बनेपाको चण्डेश्वरी लगायत काठमाडौं बसन्तपुर दरवार स्क्वायरमा रहेको दशैंघर, कोतको पटाङ्गगीनी लगायत नेपालभरिका शक्तिपीठ र मन्दिरमा बोका, हाँस, कुखुरा र राँगाको वलिसहित पूजाअर्चना र सप्तशती पाठ गरिन्छ ।

कतिपय ठाँउमा आज कुखुरा, बोका, भेँडा, हाँस र कुखुराको पञ्चवलि पनि चढाएर कोतपूजा र निशानपूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेध आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका विरुवाहरुको पूजागर्ने चलन पनि छ ।

दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ ।
सोमबार, असोज २०


प्रकाशित मितिः असोज २०, सोमवार, ०७:२०