काठमाडौंः लामो समयदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका पर्यटक बसलाई त्यहाँबाट हटाइने भएको छ ।

दैनिक रुपमा कान्तिपथबाट संचालन हुँदै आएका ती पर्यटक बसहरु अब भने सोह्रखुट्टेस्थित सडकबाट सुचारु हुनेछन् । गृहमन्त्रीको निर्देशनमा गृह प्रशासन सुधार योजनाले आगामी असार १६ गते पर्यटक बसलाई सोह्रखुट्टेको सडकमा अस्थाई रुपमा सार्न लागेको जानकारी दिइएको हो ।

पर्यटक बसपार्कलाई स्थानान्तरणका लागि काठमाडौँ महानगरपालिकाका सहसचिवको संयोजकत्वमा गठिन समितिले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाउन लागिएको बताएको छ ।


पर्यटकीय सवारी साधनलाई नयाँ बसपार्कमा स्थानान्तरण गर्ने महानगरपालिका र ट्राफिक प्रहरीको तयारी भए पनि व्यवसायीले नयाँ बसपार्क जान नमानेपछि अहिले अस्थायीरुपमा सोह्रखुट्टे करिडोरलाई सवारी छुट्ने स्थानका रुपमा प्रयोग गर्न लागेका हुन् ।

उता पर्यटक ब्यवसायीहरुले भने बसपर्कमा टुरिष्ट बसलाई पुर्याउँदा अत्याधिक रुपमा रहने टुरिष्टहरुलाई असहज हुने बताउँदै आएका छन् । उनीहरुले ठमेल क्षेत्रवरपर नै सरकारले दिगो रुपका लागि बसपार्क निर्माण गर्नुपर्ने माग गरेका छन् ।

हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुयाउँदै आएका छन् ।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म कान्तिपथमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका र रातिको समयमा विभिन्न ग्यारेजमा शुल्क तिरेर राख्दै आएका छन् ।