काठमाडौंः पन्जाब किङ्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा पन्जाबलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा शिखर धवनले अविजित ६९, पृथ्वी शले ३९, स्टिभ स्मिथले २५, शिम्रोन हिटमायरले १६ र कप्तान ऋषव पन्तले १४ रन बनाए ।

पन्जाबका क्रिस जोर्डन, रिली मिरिदिथ र हरप्रित ब्रारले १/१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।


पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित ९९, डाविड मालनले २६, क्रिस गेलले १३ र प्रभसिम्रन सिंहले १२ रन बनाए ।

दिल्लीका कागिसो राबडाले ३ तथा अक्षर पटेल र आवेश खानले १/१ विकेट लिए ।

जितसँगै ८ खेलबाट १२ अंक जोड्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । पन्जाब ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख २० गते सोमबार, ०९:४३