काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

मंगलबार भएको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

ओमानका लागि जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले । यस्तै, मोहमद नदीमले अविजित ३८, सुरज कुमारले २०, आयन खानले १८, सोइब खानले ७ र कप्तान जिसन मक्सुदले ४ रन बनाए ।

नेपालका करण केसी र कुशल मल्लले २/२ तथा सुशन भारीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो ।

नेपालका लागि आसिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१/२१, रोहित पौडेलले २०, सन्दिप लामिछानेले १६, सोमपाल कामीले ७, विनोद भण्डारीले ६, कुशल मल्लले ४ र बिक्रम सोबले २ रन बनाए ।

ओमानका बिलाल खानले ४, नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १/१ विकेट लिए ।

यससँगै ओमानविरुद्ध नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । लिग–२ अन्तर्गत नै सन् २०२० को फेब्रुअरीमा नेपाल घरेलु मैदानमा ओमानसँग दुई खेलमा पराजित भएको थियो ।

जारी सिरिजको पहिलो खेलमा भने नेपालले अमेरिकालाई हराएको थियो । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । त्यस्तै ओमानसँग आगामी आइतबार खेल्नेछ ।

प्रकाशित मितिः २०७८ साल भदौ ३० गते बुधबार, ००:२६