बैतडीः बैतडीमा वडा सदस्यको शव बोकेको जिप आज दिउँसो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याउने क्रममा जीप दुर्घटना भएको हो ।

से १ ज १८३ नम्बरको जीप जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ को गणमेश्वरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहरा, वडा नम्बर ६ का अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ ।


घाइतेहरूको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घटनाको कारण खुल्न सकेको छैन ।


प्रकाशित मितिः २०७८ साल वैशाख २१ गते मंगलबार, १७:५१