भक्तपुरः नयाँ वर्षको चार दिनअगाडिदेखि पाँच दिनपछिसम्म गरी आठ रात नौ दिन मनाउने भक्तपुरको प्रसिद्ध बिस्काः अर्थात् बिस्केट जात्रा आजबाट सुरु हुँदैछ ।

आज बिहान भैरवनाथको पूजा गरी दिउँसो भैरवनाथ र भद्रकालीका रथ तानेर जात्रा सुरु हुने गुठी संस्थानले जनाएको छ । यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ । भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको हो ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा सुरु हुन्छ ।


काठमाडौं उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ ।

सुरुको दिन अर्थात चैत्र २७ गते टौमढीमा रथ तानिने, चैत मसान्त अर्थात चैत्र ३० गते ल्यासिङ्खेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढालिने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानिन्छ । सो दिन भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ ।

यस्तो छ, बिस्का जात्रासम्बन्धी कार्यतालिकाः

१) बिहान ५ बजे भैरवनाथको महास्नान पूजा र ५ः३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गर्ने,
२) बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलबासीहरूले पूजा सम्पन्न गर्ने,
३) बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्ठ समेतको टोलीबाट पूजा सम्पन्न गर्ने,
४) बिहान ९ बजेदेखि ९ः३० बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धर समेतको टोलीबाट पूजा सम्पन्न गर्ने,
५) बिहान ९ः३० बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइके समेत भएर पूजा सम्पन्न गर्ने,
६) बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गंगालाल कुस्मा समेतबाट पूजा सम्पन्न गर्ने,
७) १० बजेदेखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिंगार्ने,
८) दिनको ११ बजेदेखि १२ बजे सम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घैमसू समेतले श्रीको पूजा सुरु गर्ने,
९) दिनको १२ बजे गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुखले तलेजु पूजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने,
१०) दिनको १ बजे सम्ममा पूजारी प्रगेश राजोपाध्याय समेत दुई जना र हपः दिने चौगुठीहरू दुई जना तलेजुमा उपस्थित हुने तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने,
११) दिनको १२–१ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसु समेत गुठीयारले गुहृय पूजा सिध्याई देवता रथमा राख्ने,
१२) दिनको १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा बिराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने,
१३) दिनको १ः३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याउने,
१४) दिनको २ः०० बजेदेखि भैरवनाथको रथ तान्न सुरु गर्ने गरी दिनको ५ः३० बजे सम्म भैरवनाथको रथ गःहिटीमा खः थाते लाकेगु (रथ ठाउँमा राख्ने)


प्रकाशित मितिः २०७७ साल चैत २८ गते शनिबार, ०९:३६