काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी जोगाउने अन्तिम लडाईमा छन् । खासगरि शेरबहादुर देउवा नेतृत्वको कांग्रेस इतिहाँसमै सबैभन्दा कमजोर भएकोमा चिन्ता गर्दै त्यसबाट जोगाउनुपर्ने आवाज उठ्दै आएको थियो । देउवाले फेरि कांग्रेसको नेतृत्व गरे कांग्रेस विचार विहिन पार्टीका रुपमा कुलिन, सम्भ्रान्त, ठेकेदार, व्यापारी तथा दक्षिणपन्थी नवप्रवेशीहरुको कब्जामा जाने चिन्ता प्रकट हुँदै आएको छ । त्यही भएर यो महाधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन अनिवार्य ठानिएको छ । यसका लागि पौडेल समूहबाट जसरी पनि एउटा मात्रै उम्मेदवार हुनुपर्छ भन्ने देशभरका नेता कार्यकर्ताबाट आवाज उठ्दै आएको छ ।

यसै कारण पौडेल समूहबाट आकांक्षी देखिएका वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइरालाले सहमतिमा एक जना मात्र उम्मेवदार बन्ने बताउदै आएका थिए । तर महाधिवेशनको मुखैमा आएर पौडेल समुहबाटै आकांक्षी रहेका सिंह र शेखर दुवैले सभापतिको उम्मेदवार नबनि नछोड्ने हठ कायम राखेका कारण कांग्रेस फेरि देउवा कै नेतृत्वमा जाने संभावना बढेपछि त्यसलाई रोक्न पौडेलले सबै विकल्प खुला राखेका छन् ।

उनले देउवाको नेतृत्वबाट कांग्रेसलाई मुक्त गरेर जोगाउन आफुले त्याग गर्ने र यसका लागि डा. कोइराला, शेखर र प्रकाशमानबीच सहमति कायम गरि एउटै उम्मेदवार तोक्न पर्ने प्रस्ताव गरे । शशांकले पनि देउवाको नेतृत्वबाट कांग्रेसलाई मुक्त गर्न आफु त्याग गर्न तयार रहेको र वरिष्ठ नेता पौडेलका नाममा सहमति गर्न सिंह र शेखरलाई आग्रह गरे । शशांकको यस्तो आग्रहपछि पनि सिंह र शेखरले नमानेपछि पौडेलले उनीहरुबीच नै एकता गरेर भएपनि देउवालाई रोक्न प्रस्ताव गरे ।

पौडेल सबैभन्दा वरिष्ठ भएर पनि सहमतिका लागि आफू सभापतिको उम्मेदवार नबन्ने प्रस्ताव गर्दा समेत सिंह र शेखर दुवैले उम्मेदवार बन्ने जिद्दी नछाडेपछि फेरि कांग्रेस देउवा कै पोल्टामा जाने विषयले पौडेललाई निकै दुःखी तुल्यायो । त्यही भएर उनले भावुक हुँदै आफ्नो समुहमा सहमतिको साझा उमेदवार नतोक्ने हो भने, आफुले राजनीतिबाटै विश्राम लिने घोषणा गरे ।

जीवनपर्यन्त प्रजातन्त्र र कांग्रेस पार्टी निर्माणमा क्रियाशील पौडेलका लागि पार्टी वा राजनीतिबाट अलग हुने कुरा कुनैपनि दृष्टिकोणले कम्ति कठोर छैन् । भावना मै सहि यो उनको अडानले पौडेल समुहमा साझा उम्मेदवार तोक्नका लागि दबाब सृजना गर्ने अन्तिम लडाई हुन सक्छ ।

यो लडाई उनले जितेर देउवा नेतृत्वबाट कांग्रेसलाई मुक्त गराउन सफल हुन्छन् वा जीवनको उत्तरार्धमा पार्टी छोड्नुपर्ने सर्वोच्च नेता गणेशमान सिंह र सन्त नेता कृष्णप्रसाद भट्टराई कै नियती भोग्न उनी विवश हुनेछन्, त्यो हेर्न बाँकी छ । तर, कांग्रेस जोगाउन, लोकतन्त्रको संरक्षण गर्न, मुलुकको हितका निम्ति पौडेलले यो लडाई जित्नुपर्छ भन्ने नागरिक अगुवाहरुको भनाई छ । उनीहरुको विचारमा कथंकदाचित यो लडाई तत्काल हारेपनि पौडेलले राजनीतिबाट विश्राम लिनुहुँदैन । कांग्रेस, लोकतन्त्र र मुलुकका लागि पौडेलको क्रियाशीलता अझै आवश्यक रहेको उनीहरुको भनाई छ ।

प्रकाशित मितिः २०७८ साल मंसिर २३ गते बिहीबार, १३:१४