काठमाडौंः प्रधान सेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका अशोकराज सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार प्रधान सेनापति शर्माले सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को मंसिर २८ गतेको बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

वि.सं. २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मेका रथी सिग्देल, २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते श्री नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएको थिए ।

रथी सिग्देलले अनाश्रित गुल्मपति, पदिक गणको गणपति, बहिनीपति, पृतनापति र कमाण्ड सेनापतिका साथै प्रतिविद्रोह तथा जंगलवारफेर शिक्षालयको शिक्षाधिकृत, युद्धकार्य निर्देशक, निरीक्षणाधिकृत, संभाररथी र व्यवस्था, नीति तथा योजना विभागको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

भारत, ईण्डोनेसिया, चीन, सिंगापुर र अमेरिकामा सञ्चालन भएका विभिन्न तालिम तथा सेमिनारहरुमा सहभागी भएका उनले चीनबाट NDC तालिम सम्पन्न गरेका छन् । यस्तै, युगोस्लाभिया, ताजकिस्तान र लाईवेरियामा शान्ति सेनामा सहभागी भएका छन् ।

शुक्रबार नै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापतिले उपरथी दर्जामा पदोन्नति भएका सन्तोष वल्लभ पौडेललाई पनि दर्ज्यानी चिन्ह प्रदान गरे । सिग्देल बलाधिकृत र पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।

प्रकाशित मितिः २९ मंसिर २०८० शुक्रबार, १४:०३